धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा चट्याङ लागेर युवकको मृत्यु भएको भनिएको घटना शंकास्पद देखिएको छ।
३२ वर्षीय पदम रानाको मृत्युबारे प्रारम्भिक अनुसन्धानपछि नयाँ तथ्यहरू बाहिर आउन थालेका छन्। प्रहरीले प्रारम्भमा चट्याङ लागेर मृत्यु भएको जनाएको थियो, तर अब उनलाई जंगली जनावर मार्न थापिएको विद्युतीय धरापमा परेर ज्यान गएको आशंका गरिएको छ।
घटना लुकाउने प्रयास?
श्रोतहरूका अनुसार, रानाको परिवारले घटनाबारे झुठो सूचना दिएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको छ। परिवारले चट्याङ लागेको भनी प्रहरीलाई खबर गरेका थिए। तर रानाको शरीरमा देखिएको चोटपटक र जलनको आधारमा उनी विद्युतीय धरापमा परेको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी के भन्छ?
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले घटनाबारे अनुसन्धान भइरहेको बताए। “चट्याङ लागेको हो वा अरू कुनै कारणले मृत्यु भएको हो, त्यसबारे थप अनुसन्धान गरिरहेका छौँ,” डीएसपी जोशीले भने। उनका अनुसार, प्रहरीलाई बिहान ६:३० बजे परिवारले खबर गरेको थियो, र प्रहरी पुग्दा राना घरको आँगनमा मृत अवस्थामा फेला परेका थिए।
मृतकको मुख र खुट्टाको भाग जलेको अवस्थामा रहेकोले मृत्युको कारणबारे थप शंका उत्पन्न भएको छ। शव परीक्षणपछि मात्रै वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।
प्रहरीकाअनुसार, रानाको शव परीक्षणपछि आइतबार नै परिवारले बुझेका छन्। तर, शव परीक्षण रिपोर्ट भने आउन बाँकी छ। उक्त रिपोर्ट सार्वजनिक भएपछि घटनाबारे थप स्पष्टता आउनेछ।