धनगढी: गृह मन्त्रालयले बझाङमा सिडिओको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयको बिहीबारको निर्णय अनुसार सिडियो ओमप्रसाद भट्टराईलाई मन्त्रालय तानिएको हो। उनको स्थानमा मन्त्रालयका उपसचिव कैलाश ठकुराठीलाई पठाइएको छ।
सिडियो भट्टराई गत असोजमा बझाङमा हाजिर भएका थिए। तर उनलाई करिब ६ महिनामै तानिएको हो।
यस्तै उपसचिव कैलाश ठकुराठीले पनि गृह मन्त्रालयमा हाजिर भएको १२२ दिनमा बल्ल जिम्मेवारी पाएका हुन्।
गत मंसिर ५ गते मन्त्रालयमा हाजिर भएपनि ठकुराठीलाई अतिरिक्त समूह (जगेडा)मा राखिएको थियो। निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) अनुसार लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न मिल्दैन। तर, ठकुराठीले त्यसको दोब्बर भन्दा दुई दिन बढी समयमा मात्रै जिम्मेवारी पाएका हुन्।
ठकुराठी मात्रै होइन गृह मन्त्रालयमा अझै हाजिर गरेको ६० दिनभन्दा बढी पुगेका दुई सहसचिव र ३ उपसचिव छन्।