काठमाडौं: कास्की जिल्ला अदालतले सशस्त्र प्रहरी बलकी निरीक्षक इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सो आदेशपछि उनीहरूलाई थुनिएको छ।
गत १० फागुनमा पोखरा-१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा महिला शौचालय नजिक निरीक्षक महतको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। त्यसपछि महत परिवारले उनी र सुदूरपश्चिमको बैतडी घर भएर तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण मृत्यु भएको भन्दै जाहेरी दिएको थियो।

प्रहरीमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि सशस्त्रकै इन्स्पेक्टर जोशी पक्राउ परेमा थिए। तर उनलाई समातेपछि प्रहरीले अनुसन्धानका क्रममा महतको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमै कार्यरत अर्का सशस्त्र हवल्दार रेशमबहादुर शाहीसँग पनि सम्बन्ध रहेको पत्ता लगाएको थियो। त्यसपछि प्रहरीले हवल्दार शाहीलाई पनि पक्राउ गरिएको थियो। तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन्।
तत्पश्चात कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार दुबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
त्यस अगाडि कास्की प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अन्तर्गत अभियोग लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले ९ चैतमा अदालतमा अभियोगपत्र दायर गरेको थियो।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनको मुद्दामा कसैले कसैलाई आत्महत्या गर्न उक्साउनु वा त्यसको वातावरण सिर्जना गर्नु अपराध मानिन्छ। सो अपराधमा ५ वर्षसम्मको कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्छ।
घटनाको छानबिनका लागि सशस्त्र प्रहरी हेडक्वार्टरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
मृतक महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन्।