काठमाडौं: सशस्त्र प्रहरी बलमा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको लामो समय बितिसकेको छ। तर, अझै बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन।
२०८१ माघमा एसएसपी कृष्ण ढकाल, मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवरको डीआईजीमा बढुवा भएको थियो। ती रिक्त स्थानमा अझैपनि बढुवा भएको छैन।
चर्को राजनीतिक दबाबलाई समेत छिचोल्दै आएका सशस्त्र आईजीपी राजु अर्यालले बढुवा निकै पारदर्शी बनाउँदै आएका छन्। अहिले पनि राजनीतिक दबाब आएकै कारण बढुवा अड्किएको बताइएको छ।
हाल एसएसपीमा बढुवाको लाइनमा एसपीहरु ध्रुव कार्की, जनक पुरी, यादव विश्वकर्मा, अशोक बम, टोप खनाल, वीरेन्द्र ऐर, समिक महर्जन, दीपक थापा, महेश अधिकारी, खगेन्द्र चन्द लगायत दुई दर्जन भन्दा बढी प्रतिस्पर्धामा रहेका छन्।
तथापि बढुवामा ढिलाई हुँदा उनीहरुको करियरमा सिधा असर पुग्ने चिन्ता संगठनभित्र देखिएको छ।
यस्तै उता नेपाल प्रहरीमा पनि सरकारले नेपाल प्रहरीको रिक्त एआईजी बढुवाका लागि ६ जनालाई बढुवा सिफारिस गर्न सकेको छैन। बढुवाको चर्को प्रतिस्पर्धामा राजनैनिक दबाब बढेकाले बढुवामा ढिलाई भएको हो।
उसो त यस अगाडिका नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवरले एसपीहरुको सरुवा र वरिष्ठ सईहरुलाई बढुवा नै नगरी अवकाशमा गए। राजनैनिक दबाब थेग्न नसकेर उनी सरुवा बढुवा नै नगरी चैत ५ मा अवकाशमा गएका हुन्।
अहिले नयाँ आईजीपीको रुपमा दिपक थापा आएपछि नक्सालस्थित प्रहरी हेडक्वार्टरले भने एसपी सरुवा गर्ने तयारी थालेको छ। जिल्ला प्रहरी प्रमुखका रूपमा एक वर्षे कार्यअवधि पूरा गरेका एक दर्जनभन्दा बढी एसपीको सरुवा हुन लागेको हो।
यसबीच जिल्ला प्रहरी प्रमुखका रूपमा एक वर्षको कार्य अवधि पूरा गरेका दर्जनभन्दा बढी जिल्ला जानका निम्ति एसपीबीच दौडधुप तीव्र भएको छ।
गत वर्ष फागुन १ को बढुवामा विभिन्न जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपीहरु अहिले सरुवाको मुखमा छन्। उक्त बढुवा मितिका केही एसपी भने दुई महिनामै जिल्लाबाट तानिएका थिए।
झापाका मिलन केसी, रुपन्देहीका रन्जितसिंह राठौर, कन्चनपुरका चक्रराज जोशी, कैलालीका पदमबहादुर विष्ट, बाँकेका तुलबहादुर कार्की, पाल्पाका नरेन्द्रबहादुर चन्द, गोरखाका वासुदेव पाठक, गुल्मीका राजन भुजेल, सुर्खेतका रुपेश खड्का, स्याङ्जाका शालिग्राम शर्मा, काभ्रेकी वसुन्धरा खड्कासहितका एसपी सरुवा हुन लागेका हुन्।
आईजी थापाले सरुवा मापदण्ड संशोधन गर्दै कार्यक्षमताका आधारमा एसपी सरुवा गर्न मातहत शाखालाई निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ।