काठमाडौं: सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ। शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो।
हिजोको हत्या, आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको स्रोतले जनाएको छ।
आगजनीमा परेर एक पत्रकार मारिएका छन्। अर्का एक जनाको गोली लागेर निधन भएको हो। धेरै घरमा तोडफोड र आगजनी गरिएको छ भने भाटभटेनीमा लुटपाट मच्चाइएको थियो।
प्रहरीले राति नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमसेर राणासहित ११० जनालाई पक्राउ गरेको छ। उनीहरुलाई आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्न भएको आरोपमा प्रक्राउ गरेको हो। उनीहरुमाथि संगठित अपराध, चौरी डकैती, हत्या, आगजनीको अभियोग लगाउने प्रहरीको तयारी छ।
राजावादीहरुको आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंको खोजी जारी छ। यता पूर्वराजा ज्ञानेन्द्रले तोकिदिएका आन्दोलनका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्दमा राखिएको छ। ८७ वर्षे सुवेदीलाई पक्रेर प्रहरी हिरासतमा राख्दा उनको ज्यानको जोखिमलाई ध्यानमा राखेर प्रहरीले घरभित्रै थुनेको हो।