कञ्चनपुर: सशस्त्र प्रहरी बल, नेपालले भारतसँग जोडिएको कञ्चनपुरको दक्षिणी सीमाक्षेत्र बेलौरीबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले बेलौरी नगरपालिका-६ हात्तिबोझाका २३ वर्षीय रोहित पन्तलाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी कञ्चनपुरको टोलीले २०८१ चैत्र १४ गते साँझ ५:४० बजे सीमा इलाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पन्तलाई चेकजाँच गर्दा उनको झोलाभित्र ज्याकेटको खल्तीमा लुकाइछिपाइ राखेको ५३.९८ ग्राम खैरो हेरोइन फेला पारेको थियो। साथै, प्रहरीले पक्राउ परेका व्यक्तिसँग एक थान रेडमी मोबाइल, नेपाली रुपैयाँ २,९४० र भारतीय रुपैयाँ ८१० समेत बरामद गरेको छ।
पक्राउ परेका पन्तलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण, हेक्वा शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले जानकारी दिए।
सीमा क्षेत्रमा लागुऔषध ओसारपसार रोकथाम तथा सुरक्षालाई मजबुत बनाउन सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानी जारी राख्ने जनाएको छ।