धनगढी: सुदूरपश्चिम प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले आगलागीबाट क्षतिग्रस्त अछामकाे जयगढ बजारका संरचनाकाे निरीक्षण गरेका छन्।
जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित मन्त्री पाल बुधबार आगलागीबाट क्षतिग्रस्त बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजार पुगेका थिए।
त्यहाँ क्षतिग्रस्त संरचनाको निरीक्षण र प्रभावितहरूसँग भेटेका मन्त्री पालले पहिलो चरणमा प्रदेश सरकारले राहत स्वरूप ५० लाख दिने निर्णय गरिसकेको बताए।
थप आवश्यक राहत तथा सहयाेगका लागि पहल गरेर व्यवस्थापन गर्ने बताए।
मन्त्री पालसँगै एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी समेत प्रभावित क्षेत्र पुगेका थिए।
उनीहरूले त्यहाँ गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल समेत गरेका थिए। यस्तै, मन्त्री पालले बुधबार नै मेल्लेख गाउँपालिका-६ काे नन्देश्वरी माध्यमिक विद्यालयले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन समेत गरेका छन्।
विद्यालयले आयाेजना गरेकाे श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महाेत्सवकाे उद्घाटन गरेका हुन्।
विद्यालयले पाललाई महायज्ञ उद्घाटनका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकाे थियो।
महायज्ञ उद्घाटन गर्दै मन्त्री पालले धार्मिक पर्यापर्यटनकाे माध्यमबाट समेत प्रदेशकाे आर्थिक विकास गर्न सकिने बताए।
साेही उदेश्य राखेर प्रदेश सरकारले धार्मिक तथा ऐतिहासिक स्थलकाे पहिचान गरेर पूर्वाधार निर्माणका काम समेत अघि बढाएकाे मन्त्री पालकाे भनाइ थियो।