महेन्द्रनगर: उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भारत–नेपाल सीमा नजिकै बनबासामा निर्माणाधीन सुख्खा बन्दरगाह र पुलको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले निर्माणाधीन पुलको प्रगतिबारे सम्बन्धित प्राविधिक र प्रशासनिक अधिकारीहरूसँग जानकारी लिएका थिए।
मुख्यमन्त्रीले सुख्खा बन्दरगाहको निर्माण द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिँदै यस परियोजनाले भारत–नेपालबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक रूपमा थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भने, “यो बन्दरगाह पूरा भएपछि दुबै देशबीचको व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि हुनेछ। यसले आयात–निर्यात प्रक्रिया अझ पारदर्शी, सरल र प्रभावकारी बनाउनेछ।”
उनको भनाइमा, यस किसिमको पूर्वाधारले नजिकका सीमावर्ती क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने, यातायात प्रणालीमा सुधार ल्याउने र सम्पूर्ण स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे। साथै, मुख्यमन्त्रीले समन्वयात्मक काममा केन्द्र र प्रदेश सरकारबीच सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता पनि दोहोर्याए।
सुख्खा बन्दरगाहको निर्माण सम्पन्न भएपछि नेपाल र भारतका व्यापारीहरूलाई अन्तर्राष्ट्रिय व्यापारमा पहुँच बढाउने थप अवसर मिल्ने र औपचारिक व्यापारिक ढाँचालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।