धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले धनगढी उप–महानगरपालिका–२ स्थित नल्काघाटमा नयाँ सीमा प्रहरी चौकी (बीओपी) को उद्घाटन गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरेका छन्।
गृह मन्त्रालयको मिति २०८१ चैत ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार नल्काघाटस्थित फर्वार्ड बेसलाई स्तरोन्नति गरी सशस्त्र प्रहरी बल, नेपाल बीओपीको रुपमा स्थापना गरिएको हो। यस बीओपीको स्थापनाबाट सीमामा सशस्त्र प्रहरी बलको उपस्थिति थप सशक्त हुने र सीमा सुरक्षामा एवं सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै डीआईजी पालले सीमाको सुरक्षा नेपाल राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्धित अति संवेदनशील विषय भएकाले सशस्त्र प्रहरी बलले यसलाई सधैं प्राथमिकतामा राख्दै आएको बताए।
सीमामा हुने लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, अवैध निकासी–पैठारी तथा अवैध आप्रवासनजस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नल्काघाट बीओपीले विशेष योगदान पुर्याउने विश्वास उनेले व्यक्त गरे।
उनले आधुनिक प्रविधिको प्रयोग गर्दै सीमा प्रहरी चौकीहरूलाई थप प्रविधिसम्पन्न बनाउने दिशामा संगठनले काम गरिरहेको र नल्काघाट बीओपीलाई समेत सोही अनुरूप सशक्त बनाइने जानकारी दिए।
यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल गण नम्बर ३४ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र रञ्जितले स्थानीय प्रशासन, जनप्रतिनिधि, वडा कार्यालय र सर्वसाधारणको सहकार्य र समन्वयकै कारण यो बीओपी स्थापना सम्भव भएको बताए। बदलिँदो सुरक्षा चुनौती सामना गर्न सुरक्षा निकाय र समुदायबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका डीआईजी पालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई अनुशासन, इमान्दारी र समर्पणका साथ काम गर्न निर्देशन दिएका थिए। साथै, उनले नल्काघाट बीओपीले सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, विपद् प्रतिकार्य र लागुऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
उक्त उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि, अन्य अतिथि तथा स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।