धनगढी: कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिम्सिनामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई अभद्र व्यवहार मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी थुनामा राखिएको छ। तिम्सिनाको जाहेरीका आधारमा उनीहरू विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको सिंहले जानकारी दिए।
कुटपिट आरोपमा पक्राउ पर्नेमा नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, उनका सवारी चालक रतन मल्ल, हवल्दार मणीदत्त भट्ट र जवान जितेन्द्रसिंह धामी रहेका छन्। कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामी कञ्चनपुरबाट पक्राउ परेका थिए।
फरार धामीलाई कैलाली प्रहरीकाे टाेलीले कञ्चनपुरकाे झलारीमा लुकेकाे अवस्थामा उनलाई पक्राउ गरेकाे हाे।
शनिबार राति भन्सार कार्यालय परिसरमै प्रमुख तिम्सिनामाथि कुटपिट भएको थियो। छ लेन सडकको मिडियनमा राखिएको तारजाली भाँचेर भागेको गाडी खोज्ने क्रममा भन्सार पुगेका नगर प्रहरी र भन्सार प्रमुखबीच विवाद भएको र सोही क्रममा झडप भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।