काठमाडौं: सशस्त्र प्रहरी बलको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि दोस्रो नम्बरमा रहेका डीआईजी गणेश ठाडामगर सिफारिस भएका छन्।
बिहीबार बढुवा सिफारिस समितिले ठाडामगरलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो। बढुवाका लागि पहिलो नम्बरका डीआईजी कमल गिरी, ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत प्रतिस्पर्धामा थिए।
तर उनीहरुलाई पछि पार्दै दोस्रो नम्बरका ठाडामगर एआईजीमा सिफारिस भएका हुन्। एआईजी बढुवामा पहिलो नम्बरका डीआईजी गिरी र दोस्रो नम्बरका ठाडामगरबीच मुख्य प्रतिस्पर्धा थियो।
गिरीलाई सत्ताको नेतृत्व गरेको दल एमालेले एआईजी बनाउन चाहेको थियो। ठाडामगर भने कांग्रेसमार्फत बढुवाका लागि लविइङमा थिए। दुई शक्तिकेन्द्रबीच रस्साकस्सी हुँदा डेढ महिनासम्म एआईजी बढुवा सिफारिस हुन सकेको थिएन।
तर बिहीबार बुढानीलकण्ठबाट दबाब आएपछि साँझ बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको बताइएको छ।
ठाडामगर एसएसपीसम्म पहिलो नम्बरमा थिए। एसएसपीबाट डीआईजी बन्ने बेला उनी दोस्रो नम्बर पुगे र पहिलो नम्बरमा कमल गिरी पुगे। उनले अहिले पहिलो नम्बरका गिरीलाई उछिन्दै बढुवामा बाजी मारे।
ठाडामगर अब भावी आईजीपीका मुख्य दाबेदार हुने पक्का भएको छ। अहिलेकै अवस्था अनुसार उनी २०८४ मा आईजीपी बन्ने प्रबल सम्भावना छ।
विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन्। त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ। अहिलेकै व्यवस्थाअनुसार उनीहरू जो आईजीपी भए पनि २२ महिना कमाण्ड गर्नेछन्।