काठमाडौं: पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरण चर्किएकै बेला धनगढी विमानस्थलको विषय पनि थप अनुसन्धानतर्फ मोडिएको छ। अन्यत्रको हकमा भ्रष्टाचार भएको भन्दै कारबाही खोज्ने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको हकमा भने केही बोलेका छैनन्।
उल्टै उनले केही समय अगाडिमात्र आफ्नो तत्कालीन भ्रष्टाचार गर्ने योजना लुकाउने गरि एक मिडियालाई कुप्रचार गरिएको दाबी गरेका थिए।
उनले आफ्नो विषयमा समाचार लेखिएको कुरालाई भ्रम भन्दै टारेका थिए। यद्यपि उनै आलेको रातारात कमाउने उदेश्यको धनगढी विमानस्थल वरपर झण्डै एक अर्बको जग्गा सेटिङ प्रकरण महेन्द्रनगरपोष्टले सार्वजनिक गर्दै निरन्तर फ्लोअप गरि नै रहेको छ। त्यसबारे अहिले थप वास्तविकता खुल्दै समेत गएपछि आले तनावग्रस्त बनेको निकटस्थ स्रोतको भनाई छ।
यतिमात्र होइन, स्रोत भन्छ, ‘आलेले योजनाबद्ध ढंगबाट धनगढी विमानस्थल वरपर ७५ करोडको जग्गा किनेका छन्। बैंकबाट ऋण लिएर उनका पिए र अर्का एक जना मारवाडीको नाममा कम्पनी खडा गरी त्यो जग्गा किनिएको हो।’

उक्त जग्गा धनगढी विमानस्थल विस्तार गर्ने नाममा सरकारलाई पछि महँगोमा किन्न लगाउने उद्देश्यले किनिएको थियो। त्यसबाट कम्तीमा तीन अर्ब रुपैयाँ कमाउने योजनाका साथ उनले बैंकबाट ७५ करोड झिकाएर जग्गामा लगानी गरेको निकै समय भइसकेको छ। अहिले त्यहीँ ७५ करोड रुपैयाँ ऋणको ब्याज तिर्न बैंकले ताकेता गरेपछि उनी अप्ठेरोमा परेको समेत बताइएको छ। यसबाहेक अन्यत्र पनि उनको उधारो कारोबार रहेको बुझिएको छ।
अहिले पनि धनगढी विमानस्थलमा २५ सय मीटर लामो धावन मार्ग छ। काठमाडौं बाहिरका विभिन्न विमानस्थलमध्ये त्यति लामो धावन मार्ग पोखराको नयाँ विमानस्थल र भैरहवाको नयाँ विमानस्थलपछि धनगढीमा मात्रै छ। हवाई विज्ञहरूका अनुसार तराईमा २५ सय मीटरको धावन मार्गमा मौसमले साथ दिएको अवस्थामा वाइड बडी र अन्य अवस्थामा न्यारो बडीका विमानलाई सहजै अवतरण गराउन सकिन्छ।
तर एटीआर ७२ का लागि त्योभन्दा ठूलो रनवे नचाहिने अवस्थामा धनगढीमा आफ्नो जग्गा बिकाउने उद्देश्यले तत्कालीन अवस्थामा मन्त्री आलेले विमानस्थल विस्तार कार्यक्रम राखेका थिए। १५ सय मीटरको रनवेले पुग्ने स्थानमा आलेले विमानस्थल थप विस्तार गर्न भन्दै पटक पटक नयाँ मन्त्रीहरूलाईसमेत दबाब दिएका थिए।
तर, आले मन्त्रीबाट हटेपछि उनले राखेको एक अर्बको बजेटलाई नागरिक उड्डयन प्राधिकरणका डिजी प्रदीप अधिकारीले कार्यक्रमबाटै हटाइदिए। त्यसपछि प्रस्तावित जग्गा खरिदको च्याप्टर क्लोज्ड भएको थियो। त्यसपछि जग्गा बेच्ने सेटिङ अधुरै रह्यो भने बैंकले ब्याज तथा साँवा तिर्न ताकेता गरेपछि आले झनै अप्ठ्यारोमा परे।
अनुसन्धान गर्दै अख्तियार
सुरुमा यस विषयमा महेन्द्रनगरपोष्टले समाचार प्रकाशन गरेपछि यसमा अख्तियारले पनि चासो देखाएको थियो। अहिले एक उजुरीका आधारमा आलेसहित उनको समूहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंले अनुसन्धान जारी राखेको जनाएको छ।
दर्ता नम्बर ८१८२ सी-०५५९०९ रहेको उजुरीमा मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई उक्त बैंकसँग मिलेमतो गरी सोही रकम धितोमा राखेर ऋण लिएको उल्लेख गरिएको थियो। सो ऋणको रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेमा पनि बताइएको थियो।
उक्त योजनामा आलेका स्वकीय सचिव हेमन्त रेग्मी, मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, ठेकेदार तथा विचौलिया पवन गुप्ता पनि संलग्न रहेको आरोप उजुरीकर्ताको छ।
२०७८ पुस ११ गतेको बैठकमा मन्त्री आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरणले धनगढी विमानस्थल विस्तारका लागि १ अर्ब रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। तर, योजना कार्यान्वयन नहुँदै मन्त्री आले पदमुक्त भएपछि विस्तार योजना अलपत्र परेको र त्यससँगै उनीहरूको मुनाफा आर्जन गर्ने योजना पनि धरापमा परेको उजुरीकर्ताको दाबी छ।
आले उनै पात्र हुन्, जो एमाले हुँदै हाल नेकपा एकीकृत समाजवादी पार्टीका डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य छन्। तर उनी अहिले पार्टीमा निष्क्रियजस्तै छन्।
र, यो पनि: पूर्वमन्त्री आले समूहको धनगढी ‘एयरपोर्ट काण्ड’मा पस्यो अख्तियार, मन्त्रालय र प्राधिकरणलाई पत्र