धनगढी: कैलाली प्रहरीले विभिन्न माध्यममार्फत सूचना तथा समाचारहरू सार्वजनिक गर्दै आए पनि आफ्नै प्रहरी संलग्न गैरकानुनी घटनाहरू भने गोप्य राख्ने गरेको आरोप लागेको छ। यस्तै एक घटना हालै धनगढी क्षेत्रमा सार्वजनिक भएको थियो।
जसमा एक प्रहरी जवान लागुऔषध सेवनको अवस्थामा फेला परेका थिए। कारोबारीसमेत रहेका ती जवानलाई पक्राउ पनि गरिएको थियो। तर मुद्दा चलाइएन।
उसो त कैलाली प्रहरीका प्रमुख एसपी बाल नरसिंह राणाले आउँदा आउँदै पहिले प्रहरीमै आन्तरिक सुद्धिकरण गर्ने भाषण गरेका थिए। तर व्यवहारमा भने त्यो देखिएन।
सुरक्षा स्रोतका अनुसार ती जवान डम्बर साउद हुन्। उनलाई जिल्ला प्रहरीकै टोलीले नसाले लठ्ठ परेका अवस्थामा पक्राउ गरेको थियो। पक्राउ गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयमै एक दिन थुनामा राखियो। तर, सर्वसाधारणमाथि जस्तै कानुनी प्रक्रिया अगाडि नबढाई उनीमाथि कुनै मुद्दा नचलाइ घटनालाई गुपचुप पारिएको छ।
स्रोतले बताएअनुसार ती जवानसँग लागुऔषध सेवनमा प्रयोग हुने सामानहरू पनि बरामद भएका थिए। “तर, उनलाई लागुऔषध फेला नपरेको भन्दै मुद्दा नचलाइएको हो,” स्रोतले भन्यो, “हाल उनी पुनः ड्युटीमा खटिइसकेका छन्।”
उक्त जवान धनगढीस्थित त्रिनगर प्रहरी चौकीमा कार्यरत थिए। अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा खटाइएको छ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालयले त्रिनगर प्रहरी चौकीका पाँच जना प्रहरीको आचरणबारे गुनासो आएपछि जिल्ला तानिएको पनि जनाएको छ।
यस घटनाले प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी नै लागुऔषध जस्तो गम्भीर सामाजिक अपराधमा मुछिएर पनि कारबाही नहुनु र संस्थागत संरक्षण हुनु आपत्तिजनक विषय बनेको छ।
र, यो पनि: कैलालीमा प्रहरी नै ड्रग्स सेवनकर्ता, घटना राखियो गोप्य