धनगढी: कञ्चनपुरमा नेपाल प्रहरीका असई वीरबहादुर चन्दमाथि कुटपिट गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए।
उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।
रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन्। रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ।
उनको समूहले चेकजाँचकै क्रममा असई चन्दमाथि कुटपिट गरेको प्रहरीको आरोप छ। चन्दलाई कुटपिट गर्दै बाँध्ने प्रयास समेत गरिएको सार्वजनिक भिडियोमा देखिन्छ। यश विषयमा पहिलोपटक महेन्द्रनगरपोष्टले समाचार सार्वजनिक गरेको थियो। समाचार आएपछि दबाबमा आएर प्रहरीले रानालाई समातेको बुझिएको छ।
र, यो पनि: कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज दिनदहाडै कुटिए, के थियो विवाद ? [भिडिओ]