काठमाडौं– प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।
प्रेस काउन्सिलले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगबाट सत्यतथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न ध्यानाकर्षण गराएको हो । यस्तै निर्वाचन सम्पन्न गराउन पत्रकारजगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्ध पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै समयमा नै तथ्याङ्क अद्यावधिक (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चार माध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।