कैलाली– सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये तीन जिल्लामा प्रमुख तीन ठूला दल फरक जिल्लामा जितबिहीन बनेका छन् ।
नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । यद्यपि यहाँ नेपाली कांग्रेसले तीन उपप्रमुख पदमा भने विजय हासिल गरेको छ ।
दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो । दार्चुलामा महाकाली नगरपालिकासहित दुहुँ गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा नेकपा एमालले जित हासिल गरेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले दार्चुलाको लेकम गाउँपालिका, मार्मा गाउँपालिका, नौगाढ गाउँपालिका र अपिहिमाल गाउँपालिकामा जित हात पारेको छ ।
दार्चुला नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुको गृहजिल्ला हो ।
यसैगरी, प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमाले शून्य भएको छ । ०७४ को निर्वाचनमा डडेल्धुरा सदरमुकामसमेत रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो ।
तर, यसपटक भने डडेल्धुरामा एमालेले केही वडामा मात्रै चित्त बुझाउनुपरेको छ । डडेल्धुराका ७ पालिकामध्ये ५ मा नेपाली कांग्रेस र २ पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, पर्शुराम नगरपालिका र भागेश्वर गाउँपालिकामा कांग्रेस विजयी भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
बाजुरामा नेकपा माओवादी केन्द्र शून्यमा झरेको छ । ९ पालिका रहेको बाजुरामा अहिलेसम्म ७ पालिकाको अन्तिम मत परिणाम आएको छ । तीमध्ये ४ मा नेकपा एमाले र ३ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ७ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले उपप्रमुखसमेत जित्न सकेको छैन ।
जिल्लाको गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका र बडिमालिका नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरी, कांग्रेसले हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र त्रिवेणी नगरपालिकामा जित हात पारेको छ ।
बाजुराका बाँकी २ पालिकामध्ये अहिले बुढीनन्दा नगरपाकिलामा मतगणना जारी रहेको छ । सो पालिकामा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा छ । त्यसैगरी, बुढिगंगा नगरपालिकामा विवादका कारण मतदान नै हुन सकेको छैन ।
एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले भने प्रदेशमै खाता खोल्न सकेको छैन । प्रदेशका अन्य पालिकामा भने मतगणना जारी छ ।