बैतडी– बैतडीका १० वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले समान ४/४ स्थानीय तहमा जित हासिल गरेका छन् । यस्तै एक तहमा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
पालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसले ५, एमालेले ४ र माओवादी केन्द्रले एक स्थानमा जितेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाको प्रमुखमा एमालेले जित हात पारेको छ भने शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाको प्रमुख कांग्रेस वियजी भएको छ।
यस्तै मेलौली नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रका सन्तोषप्रकाश जोशीले जित हात पारेका छन् । यस्तै नेपाली कांग्रेसले दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकाको उपप्रमुख पदमा जित निकालेको छ।
यस्तै एमालेले पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाको उपप्रमुखमा जित हात पारेको छ । माओवादी केन्द्रले भने पाटन नगरपालिकाको उपप्रमुख पदमा विजय हासिल गरेको छ ।