कैलाली– कैलालीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले दुई स्थानीयमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्तिले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिका जित हात पारेको छ ।
टीकापुरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका छन् । नेपाली कांग्रेसका नवराज रावललाई ३ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खड्क शाह विजयी भएका छन् । उनले नागरिक उन्मुक्तिका उल्कादेवी विकलाई १५० मतले पछाडि पारेका थिए ।
मेयरमा विजयी रामलाल यसअघि माओबादी केन्द्रबाट टीकापुर वडा नम्बर ७ को वडाध्यक्ष बनेका थिए । उनी अहिले भने नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख बनेका हुन् ।
त्यस्तै जोशीपुर गाउँपालिकामा पनि नागरिक उन्मुुक्ति पार्टीबाट चित्रबहादुर चौधरी विजयी भएका छन् । उनले ४ हजार ९०३ मत प्राप्त प्राप्त गरेर नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गरे । उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भइन् ।
यसैगरि नागरिक उन्मुक्ति पार्टीले जिल्लाका भजनी नगरपालिका र जानकी गाउँपालिकामा पनि अग्रता कायम राखेको छ ।