काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले ६७ स्थानमा फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ ।
यसैगरी, अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ भने ४४ स्थानमा अग्रता बनाएको छ ।
यस्तै, १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ ।
यस्तै, एकीकृत समाजवादी पार्टी चौथो दल हुने देखिएको छ । सो पार्टीले २० स्थानमा विजय हासिल गर्दा ११ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ। मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ ।