दार्चुला- दार्चुलाका ९ वटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरुले विहिबार शपथ लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन्। नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन्।
दार्चुलामा दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् भने चार गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
महाकाली नगरपालिकाको प्रमुखमा एमालेका नरसिंह चैसीर, शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेका विजयसिंह धामी, व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्र सिह बडाल, मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनु भएको छ ।
यस्तै जिल्लोको लेकम गाउँपालिका अध्यक्षमा माओबादीका रामदत्त जोशी, मार्मा गाउँपालिका अध्यक्षमा माओबादीका जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्षमा माओबादीका दलजितसिंह धामी र अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नेपाली काङ्ग्रेसले ४ स्थानीय तहमा जित हात पारेको छ ।
माओवादी केन्द्र २ र नेकपा एमालेले ३ स्थानिय तह हात पारेको छ । ६१ वडा रहेको दार्चुलाका ३४ वडामा एमाले विजयी भएको छ । यस्तै १७ वडामा नेपाली कांग्रेश र १० वडामा नेकपा माओबादी केन्द्र विजयी भएको छ ।