कैलाली– सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड दोस्रो र एमालेका रणबहादुर चन्द तेस्रो स्थानमा छन् ।
धनगढीमा ४४ हजार बढी मत गणना हुँदासम्म हमालले २० हजार मत कटाएका छन् । उनी निकटतम प्रतिस्पर्धी भन्दा १० हजार बढी मतान्तरले अगाडि छन् ।
यस अवधिसम्म आइपुग्दा धनगढीका १२ वटा वडाको मतगणना सकिएको छ । १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ ।
यसमध्ये वडा नम्बर १, २, ३, ४, ५, १४, १५, १७ र १९ नम्बर वडामा नेपाली कांग्रेसले कब्जा जमाएको छ । यी पालिकामा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ । यसमध्ये वडा नम्बर १४ मा एक जना सदस्यबाहेक सबै कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । यस्तै वडा नम्बर ६ र १६ मा माओवादी केन्द्र र वडा नम्बर १८ मा नेकपा एमाले विजयी भएको छ ।