कैलाली– कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ रोकिएको छ ।
उनी विृृरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले अहिले सपथ रोकिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए । निर्वाचन आयोगको अनुरोधमा सपथ रोकिएको उनले बताए । उनका अनुसार आयोगले केही दिनमा निकास निकाल्ने जनाएको छ ।
कैलालीमा अन्तिम मतपरिणाम सार्वजनिक भएका गोदावरी नगरपालिका, चुरे, कैलारी र बर्दगोरियाका नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।
माओवादीका उपाध्याय एमालेका धरमबहादुर थापालाई पराजित गर्दै मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनीविरुद्ध अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान मुद्दा दायर गरेको छ । आयोगले उनीसहित मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिंवगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २ गते उक्त मुुद्दाको अनुसन्धान सकेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।