दार्चुला – दार्चुलाका दुई नगरपालिकामा एमालेले गठबन्धनको विरासत तोडेको छ । स्थानीय तहको निर्वाचनमा होमिएका दार्चुलाका दुई नगरपालिकाका निवर्तमान प्रमुखहरुको विरासत यो पटक एमालेले तोडि दिएको हो । फेरि पालिका प्रमुखमा दोहोरिन चाहने दार्चुलाको महाकाली, र शैल्यशिखर नगरपालिकामा निवर्तमान अध्यक्षको विरासत यो पटक एमालेले तोडेको हो ।
िजल्लाका दुई नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजय प्राप्त गरिसकेको छ। २०७४ को निर्वाचनमा महाकाली नगरपालिकामा हंस राज भट्ट र सुना बोहरा निर्वार्चित भएका थिए ।
शैल्यशिखर नगरपालिकामा अमर सिह धामी र राजमति पाल विजयी भएका थिए। तर यि दुबै नगरपालिकामा यो पटक एमालेको बहुमतको सरकार बनेको छ । उनीहरु चारै जना पुनः सोही पदमा दोहोरिन यो पटकको स्थानीय तहको निर्वाचनमा पनि उमेदवार भए तर एमाले उमेदवारका सामु अहिले निकटतम प्रतिद्वन्द्वी रुपमा रहन बाध्य भए। मेयरमा एमालेका उम्मेदवार नरसिंह चैंसिरले कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई पराजित गरेका छन् । चैंसिरले ५ हजार ३ मत ल्याएका छन् भने भट्टले ३ हजार ८८७ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा भट्टले नै चैंसिरलाई पराजित गरेका थिए । त्यतिबेला भट्टले ४ हजार ४३ मत ल्याएका थिए भने चैंसिर ३ हजार ४७६ मत ल्याउँदै पराजित भएका थिए । निवर्तमान उपमेयर कांग्रेसकी सुना बोहरा पनि यसपटक एमाले उम्मेदवारसँग पराजित भएकी छन् ।
एमालेकी दुर्गाकुमारी खत्रीले ४ हजार ६३६ मत ल्याउँदा बोहराको ४ हजार १८२ मत आएको छ । उनले २०७४ सालको निर्वाचनमा ४ हजार १३२ मत ल्याएकी थिइन् भने उनीसँग पराजित एमालेकी दुर्गादेवी धामीले ३ हजार ३७४ मत ल्याएकी थिइन् ।
शैल्यशिखर नगरपालिकामा पनि कांग्रेसका निर्वतमान मेयर र उपमेयर एमाले उम्मेदवारसँग पराजित भएका छन् । मेयरमा एमाले उम्मेदवार विजयसिंह धामी ५ हजार ५०९ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह धामी ४ हजार ६६२ मत ल्याएर पराजित भएका छन् ।
उनले अघिल्लो निर्वाचनमा ३ हजार ९२९ मत ल्याएर एमालेबाट ३ हजार ४०२ मत प्राप्त गरेका गंगादत्त जोशीलाई पराजित गरेका थिए । त्यस्तै उपमेयरमा दोहोरिएर उम्मेदवारी दिएकी कांग्रेसकी कुमारी राजमती बम एमालेकी शान्ति खडायतसँग पराजित भएकी छन् । खडायतले ५ हजार ६४८ मत ल्याएर विजयी भएकी छन् भने बम ४ हजार ५७५ मतसहित पराजित भएकी छन् । बमले २०७४ सालको निर्वाचनमा ३ हजार ९२६ मत ल्याएर ३ हजार ५२१ मत ल्याएकी एमाले उम्मेदवार माधवीकुमारी धामीलाई पराजित गरेकी थिइन् ।२०७९ को स्थानीय तह निर्वाचनमा एमाले जिल्लाको सबै भन्दा ठुलो पार्टी बनेको छ ।
जिल्लाका कुल ९ वटा पालिका मध्ये ६ वटा पालिकामा एमालेको बहुमतको सरकार बनेको छ । जिल्लाको दुहुँ ,व्यासँ मालिकार्जुन लेकम महाकाली र शैल्यशिखर नगरपालिकामा एमालेको बहुमतको सरकार बनेको छ । माओवादीले प्रमुख उम्मेदवार उठाएर कांग्रेसले उपप्रमुख लिएको ठाउँमा भने जित हात पारेको छ ।
माओवादी केन्द्रले भने आफ्नो भागमा परेका चारवटै पालिकामा जितेको छ । दार्चुला घर भइ हाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहनुभएका कांग्रेसका प्रभावशाली मानिने नेता दिलेन्द्रप्रसाद बडूको गृहजिल्लामा कांग्रेशले गठबन्धन गर्दा एउटा पालिका प्रमुख समेत नजितेपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।
अहिले बडू प्रतिनिधिसभामा समानुपातिक कोटाबाट सांसद हुनुहुन्छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । विकासबादी नेताको रुपमा चिनिने ठगुन्ना केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको थियो ।
त्यस्तै मालिकार्जुन गाउँपालिकामा अध्यक्षमा एमालेले कांग्रेस उम्मेदवारलाई पराजित गरेका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रले एमालेलाई पराजित गरेको छ । अध्यक्षमा दोहोरिएर उठेका कांग्रेस उम्मेदवार नरेन्द्रसिंह धामी एमालेका हिरासिंह धामीसँग पराजित भएका छन् ।
हिराले ४ हजार ३४ ल्याएका छन् भने नरेन्द्र ३ हजार ३२२ मतमा सीमित हुन पुगे । २०७४ सालको निर्वाचनमा अध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका नरेन्द्रसिंह धामीले एमाले उम्मेदवार मोहनसिंह धामीलाई पराजित गरेका थिए ।
उपाध्यक्षमा माओवादीका उम्मेदवार कल्याणसिंह धामी ३ हजार ५६६ मतसहित जित निकाल्दै गर्दा एमालेकी उम्मेदवार गोमती भट्टले ३ हजार २६६ मत ल्याइन् ।
२०७४ सालको निर्वाचनमा उपाध्यक्षमा एमालेकी पुष्पा अवस्थी विजयी भएकी थिइन् । दुहुँ गाउँपालिकामा पनि कांग्रेसका निवर्तमान अध्यक्ष समेत रहेका पुलेन्द्रबहादुर कार्की एमालेका नरेन्द्रबहादुर सिंह बडालसँग पराजित भएका छन् । बडालले २ हजार ८८६ मत ल्याएका छन् भने कार्कीले २ हजार ७९६ मत ल्याए ।
अघिल्लो चुनावमा कार्कीले नै बडाललाई पराजित गरेका थिए । उपाध्यक्षमा भने कांग्रेसकी शान्तिदेवी बम विजयी भएकी छन् । उनले एमालेकी तारकेशरी देवी कुँवरलाई ११ मतको झिनो मतान्तरले पराजित गरेकी हुन् । बमले २ हजार ८४२ मत र कुँवरले २ हजार ८३१ मत ल्याएकी छन् । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसकी ईश्वरी जोशीले एमालेकी राजेश्वरीदेवी बमलाई पराजित गरेकी थिइन् ।त्यस्तै अघिल्लो पटकको निर्वाचनमा जितेको व्याँस पनि कांग्रेसले गुमाएको छ । एमालेका मंगलसिंह धामीले २ हजार ९४९ मत ल्याएर २ हजार ६९३ मत ल्याएका कांग्रेसका दिलीपसिंह बुढाथोकीलाई पराजित गरेका छन् । उपाध्यक्षमा भने माओवादीका विनोदसिंह कुँवरले २ हजार ५९२ मत ल्याएर एमालेकी चन्द्रादेवी कुँवरलाई पराजित गरेका छन् । चन्द्रादेवीले २ हजार ४९७ मत ल्याएकी छन् । अघिल्लो निर्वाचनमा अध्यक्षमा कांग्रेसका बुढाथोकीले नै १ हजार ९१५ मत र उपाध्यक्षमा कुमारी हेमा जोशीले १ हजार ८१९ मत ल्याएर विजयी भएका थिए । उपाध्यक्षमा जोशीसँग पराजित एमालेकी तिरा कुँवरले १ हजार ६५० मत ल्याएकी थिइन् ।