दार्चुला– जिल्लाको सदरमुकाममा रहेको महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिरले पदभार ग्रहण गरेकै दिन नगरबासीको जनअपेक्षा अनुसारको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । महाकालीमा नयाँ सरकारको नयाँ योजनासहित आफूले काम गर्ने बताउँदै उनले भने, ‘खलंगा बजार क्षेत्रलाई व्यवस्थित बनाउँदै समग्र महाकालीको विकासका लागि जनताको चाहना अनुसार अगाडि बढ्नेछु ।’
विकास भनेको निरन्तर प्रक्रिया भए पनि त्यसलाई कसरी र कुन ढंगले प्रस्तुत गर्ने भन्ने कुरा विज्ञहरुको सल्लाह अनुसार जाने उनले बताए । ‘नयाँ सरकार आइसकेपछि नयाँ योजना अनुसार अगाडि बढ्ने छौँ,’ उनले भने । अघिल्लो मेयरको कार्यकाल भन्दा सहज र जनतालाई स्थानीय सरकारको अपनत्व दिलाउने गरी काम गर्ने उनले बताए ।
यहाँको कृषिलाई आधुनिकीकरण गरी पर्यटन प्रवर्द्धनका साथै स्थानीयस्तरमै रोजगारीको सम्भावना खोजिने उनले बताए । यस्तै नगर प्रमुख चैसिरले विद्यालय शिक्षामा कोही वञ्चित नहोस् भनेर शिक्षा क्षेत्रलाई अगाडि बढाउने बताएका छन् । विद्यालय छोडेका बालबालिकालाई पनि पुनः विद्यालय ल्याउनका लागि विशेष कार्यक्रम ल्याउने बताएका छन् ।
पदभार ग्रहणकै क्रममा बोल्दै उनले भने, ‘महाकालीलाई शिक्षित नगर बनाउन मुख्य भूमिका खेलिनेछ । नगरको मुख्य समस्या भनेकै खानेपानी रहेकाले त्यसका लागि विशेष योजना बनाइने पनि उनले बताए ।
स्थानीय तहमा आएका नयाँ अनुहारहरुले पदभार ग्रहणका क्रममा नयाँ योजना ल्याएका छन् भने दोहोरिएका पुराना अनुहारले भने पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै पाँच वर्षसम्म सिकेका अनुभवलाई समेटेर थप नयाँ योजना बनाई काम गर्ने बताएका छन् ।
विहिबार पदभार ग्रहण गदै नगर प्रमुख चैसिर र उप प्रमुख दुर्गा विष्ट खत्रीले पदभार ग्रहण गर्दै यसअघि ५ सय रुपैया दस्तुर लिने विभिन्न सिफारिसको दस्तुर घटाएर एक सय रुपैया निर्धारण गर्ने निर्णय गरेको छ ।
विभिन्न सिफारिसको नाममा गरिब जनताबाट समेत ५ सय रुपैया दस्तुर लिने गरेकोमा त्यसलाई घटाएर एक सय रुपैया निर्धारण गर्ने गरि पहिलो नगरसभाबाट निर्णइ गराई कायान्वर्यन गर्ने जनाएको छ ।
आर्थिक ऐन २०७८ को को अनुसुची २ बुँदा नं ३१ र आर्थिक ऐन २०७८ को अनुसुचि ९ को विभिन्न बुँदाहरुमा उल्लेखित शुल्क ऐनमा संशोधन गरि रु एक सय निर्धारण गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।