कैलाली– सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतले विजयी भएका छन् । उनले नेपाली गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले पराजित गरे ।
हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन् । यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् ।
यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन् । उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।
उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ । यसपटक धनगढीमा कांग्रेस र माओबादीले तालमेल गरेपनि झन कमजोर बनेको छ ।
०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो । माओवादी केन्द्रले ५ वडा जितेको थियो । त्यसबेला २ वडामा मात्रै सीमित भएको एमाले यसपटक फुटेर पनि बलियो बनेको छ ।