दार्चुला – दार्चुला जिल्लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन्। दलीय राजनीतिभन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका हुन्। राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आशा गरेको देखिएको छ ।
नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको थालनी गर्ने बताएका छन्। त्यसमा पनि जनप्रतिनिधि भइसकेपछि गर्ने पहिलो काम के हो? भन्नेबारेमा महेन्द्रनगर पोष्टले जिल्लाका केही युवा नेतृत्वहरूसँग कुराकानी गरेको छ ।
त्यस क्रममा उनीहरूले बिद्युत् नभएका घरमा उज्यालो बनाउनेदेखि शैक्षिक बेरोजगारीको समस्या हल गर्नेसम्मका योजनाहरू उल्लेख गरेको सुनाएका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा अध्यक्षमा युवा नेता हिरा सिह धामीले निर्वाचित भएका छन् ।
बर्खा याममा वर्षाका कारण अवरोध हुने सडकका कारण नागरिकले दुःख पाएकाले आउँदै गरेको बर्खा याममा यसको सही व्यवस्थापन गरी पहिलो कामको थालनी गर्ने उनको योजना छ।
साथै शिक्षा क्षेत्रमा बसेर लामो समय विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत चलाएका धामी शिक्षा क्षेत्रमा पनि सुधारको योजना रहेको बताएका छन । पालिकाका सबै क्षेत्रमा शिक्षाको पहुच पुगेपनि खस्कदो शिक्षा नितिलाई माथि उठाउन पालिकाबाट पहल गर्ने प्रतिबद्धता समेत उनले गरेका छन् ।
जिल्लाको महाकाली नगरपालिकाका मेयर नर सिह चैसिरले पहिलो प्राथमिकतामा कृषिलाई राखेका सुनाउँछन्। उनले नगरपालिका भित्रका रैथाने बाली प्रबद्र्धन कार्यक्रम अगाडि सारेको बताएका छन । नगरपालिकामा उच्च शिक्षा दिएकाहरू समेत बेरोजगारीको अवस्थामा रहेकाले उनीहरूलाई पनि उत्पादनमा जोड्नुपर्ने र त्यसो गर्दा बेरोजगारी समस्या हट्ने उनको भनाइ छ।‘धेरै पढेका मान्छेले काम नगर्ने तर जागिर पाइएन भन्ने प्रवृत्ति बढेको छ। एनले सारथी खबर संग भन्नु भयो ।
त्यसको समाधानको लागि हरेक व्यक्ति कृषि कर्ममा जोडिएको हुनुपर्छ। कृषि प्रधान देशमा कृषि नै नगरेपछि त बेरोजगारी समस्या आइहाल्छ,’ उनले भने, ‘कृषिसँगै शिक्षा र स्वास्थ्यलाई प्रभावकारी बनाउनु आवश्यक छ। गुणस्तरीय शिक्षाको खोजीमा रित्ता बनेका गाउँहरूलाई भरिभराउ पारेर सबैलाई व्यवसायमा जोडन गाउँको शिक्षा र स्वास्थ्यमा पनि गुणस्तर कायम गर्नुपर्छ।’ भन्ने मेरो मान्यता हो तरकारी र सुन्तला उत्पादनमा जिल्लामै अब्बल मानिएको महाकाली नगरपालिका कृषि बाहेक अन्य सम्भावनाहरू रहेको र आफूले सम्भावनाको प्राथमिकताको आधारमा योजनालाई प्राथमिकता दिने उनको योजना छ ।
मर्मा गाउँपलिका वडा नं ६ सेरीका निर्वाचित भएका वडा अध्यक्ष २७ वर्षिय सन्तोष सिह कोट्यारी भने पहिलो काम शैक्षिक गुणस्तर कायम गर्नु रहेको बताउँछन्। शैक्षिक प्रमाणपत्र पाए पनि शैक्षिक चेतनाको स्तर कमजोर रहँदा सामाजिक समस्याहरू हल नभएको उनको ठहर छ। शिक्षाले दिने चेतनाले नै मान्छेलाई असल, परिश्रमी, इमानदार र कर्मठ बनाउने भएका कारण व्यवहारिक परिवर्तन गराउन सक्ने गरी शिक्षा क्षेत्रमा परिवर्तन चाहिएको कोट्यारीले सुनाउनु भयो ।
‘हातमा प्रमाणपत्र भए पनि मान्छेमा व्यवहारिक परिवर्तन आएको छैन, यही कारण नै बेरोजगारीदेखि कुकर्मसम्मका कामहरू समाजमा भइरहेका छन्। सक्रिय पत्रकारितामा रहेका उनले एकाएक बाटो परिवर्तन गरेका छन्। पत्रकारितामा रहेको बेलामा पनि समाज सुधारको बाटोमा लाग्न आग्रह गर्ने कोट्यारी अहिले मार्मा ६ को वडा अध्यक्ष बनेका छन् । ४० वर्षभन्दा कम उमेरका यी जनप्रतिनिधिहरू युवाहरू सहित बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा उत्तिकै महत्त्व दिएर काम गर्नेमा जनप्रतिनिधिहरु सक्रिय देखिएका छन ।