कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
एमालेका रणबहादुर महरा दोस्रो प्रयासमा मेयर बन्न सफल भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार महरा ६ हजार ७७३ मत सहित मेयरमा निर्वाचित भए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने शुक्लाफाँटामा उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका दिलबहादुर ऐरसंग १ हजार ३ मतले पराजित भएका थिए ।
यसपटक दोस्रो प्रयासमा कांग्रेसका चिन्तामणी भट्टलाई ५०९ मतान्तरले उछिन्दै महरा शुक्लाफाँटाको मेयरमा निर्वाचित भएका हुन् । भट्टले ६ हजार २६४ मत ल्याए ।
यस्तै, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका माओवादीका नवराज ऐर ५ हजार २२५ मत ल्याए ।
उपमेयरमा कांग्रेसले जित हासिल गरेको छ । उपमेयरमा कांग्रेसकी कल्पना जोशी ६ हजार ५१९ मत सहित विजयी भइन् । उनका प्रतिस्पर्धी माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मदेवार बनेका समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० मत ल्याए ।
यस्तै, एमालेकी मोनिका भट्ट ५ हजार २३६ मत सहित तेस्रो स्थानमा रहिन् । शुक्लाफाँटा नगरपालिकामा ०७४ को नजिता उल्टिएको छ । ०७४ मा कांग्रेसले मेयर र एमोलेले उपमेयर जितेको थियो ।
यसपटक वडामा ०७४ नतिजा उल्टिएको छ । यसअघि उपमेयर जितेको एमालेले शुक्लाफाँटामा १२ वडामध्ये ५ वडामा जित निकालेको थियो । मेयर जितेको कांग्रेसले ३ वडा मात्रै जितेको थियो ।
यसपटक मेयर गुमाएको कांग्रेसले वडामा वर्चश्व बढाएको छ । कांग्रेसले १२ मध्ये ६ वडामा बाजी मारेको छ । यस्तै, नेकपा एमालेले ३ वडामा मात्रै जित निकाल्न सकेको छ । मेयर जिते पनि एमालेले २ वडा गुमाएको छ ।
०७४ सालमा ४ वडामा जित निकालेको माओवादी यसपटक २ वडामा खुम्चिएको छ । शुक्लाफाँटामा एकीकृत समाजवादीले एक वडामा विजयी भएको छ ।