काठमाडौं– वीरगञ्ज महानगरपालिका र भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् । विरगञ्जमा सत्ता गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह १६ हजार बढी मतान्तरले अगाढि छन् ।
३२ वडा रहेको वीरगंजका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म जसपाका मेयरका उम्मेदवार सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् ।
सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेका गरेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका छन् । लोसपाका पुरुषोत्तमलाल झा भन्दा आलम १७ हजार २९६ मतले अगाडि छन् । आलमले २३ हजार १६४ मत ल्याउँदा झाले ५ हजार ८६८ मत ल्याएका छन् ।
राप्रपाकी बिना जैसवाल कुर्मीको मत ४ हजार ४१० छ । जम्मा एक लाख २४ हजार ६४७ मतदाता रहेको वीरगञ्ज महानगरपालिकामा ९३ हजार २३६ मत खसेको थियो ।
यस्तै चितवनको भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहँदा मेयरकी उम्मेदवार रेणु दाहाल ८ हजार बढी मतले अगाडि छन् । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।
दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएकी छन् । अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेका छन् । २९ वटा वडा रहेको महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।