कञ्चनपुर– पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले विजयी भएको छ । मेयरमा कांग्रेसका तोयप्रसाद शर्मा १० हजार ६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७६ मत मात्रै ल्याउन सके ।
यस्तै, माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका जीवनराज थापा ३ हजार ७३४ मत ल्याए । पुनर्वास नगरपालिकाको निवर्तमान मेयर समेत रहेका थापा नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्ष पनि हुन् ।
उपमेयरमा कांग्रेसकी भुलिया राना ७ हजार ३४५ मत सहित विजयी भएकी छन् । उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ५ हजार ४९२ मत ल्याए । यस्तै एमालेकी सुशिला खत्री ५ हजार ३०३ मतमा रोकिइन् ।
पुनर्वासमा कांग्रेसका मेयर शर्मा र उपमेयर राना दोस्रो प्रयासमा सफल भएका हुन् । शर्मा यसअघि नेकपा एमालेका तत्कालिन उम्मेदवार थापा (निवर्तमान मेयर)संग पराजित बनेका थिए ।