कैलाली– सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले आफूलाई उद्घाटन तथा स्वागत सम्मान जस्ता कार्यक्रममा नअल्झाउन नगरबासीलाई आग्रह गरेका छन् । आफूले प्राप्त गर्नुपर्ने सम्मान चुनावमा धगढीबासीले दिएको मतबाट पाइसकेको अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै हमालले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीबासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’
हमालले सोमबार बिहान मात्रै पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुका साथै पदभार ग्रहण गरेका हुन् ।