अछाम– अछामको साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । एमाले नेता डा. भीम रावलको गृहनगरसमेत रहेको साँफेबगरको प्रमुखमा कांग्रेसका कुँवर विजयी भएका हुन् ।
कांग्रेसका कुँवरले ७ हजार २६५ मत ल्याउँदै निकटतम् प्रतिद्वन्द्वी एमालेका पशुपति कुँवरलाई पराजित गरे । पशुपतिले ५ हजार ३९ मत ल्याइन् ।
नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् । उनले ६ हजार ४३४ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरे ।
यसअघिको निर्वाचनमा नगरप्रमुख र उपप्रमुखसहित ८ वडा एमालेले जितेको थियो भने ६ वडा कांग्रेसले जितेको थियो । यो पटकको निर्वाचनमा भने नगर प्रमुखसहित ८ वडा कांग्रेस, ३ वडा एमाले, उपप्रमुखसहित १ वडा एकीकृत समाजवादी र २ वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँफेबगर नगरपालिकाका १४ वडामध्ये वडा नं. १ स्वतन्त्र उम्मेदवार नन्दसिंह ठकुल्ला, वडा २ मा कांग्रेसका सेतबहादुर कुँवर, वडा ३ मा कुलबहादुर कुँवर, वडा ४ मा नवराज बुढा, वडा ५ मा मक्र कुँवर निर्वाचित भएका छन् ।
यस्तै वडा ६ मा स्वतन्त्रका मिनबहादुर बोहरा, वडा ७ मा कांग्रेसका हिक्मत कडायत, वडा ८ मा कालुसिंह कुँवर, वडा ९ मा एकीकृत समाजवादीका दिपक कुँवर, वडा १० मा एमालेका ललित बोगटी, वडा ११ मा एमालेका रामबहादुर बोहरा, वडा १२ मा कांग्रेसका जनक कडायत, वडा नं. १३ मा नेकपा एमालेका रुपबहादुर कुँवर र वडा १४ मा कांग्रेसका सन्जु साउँद वडा अध्यक्षमा विजयी भएका छन् ।