कैलाली– स्थानीय तहको निर्वाचन सकिएसंगै अब समन्व समिति गठनको कार्य अगाडि बढ्ने छ । त्यसका लागि हिसाब किताब सुरु हुन थालेको छ । कैलालीको नतिजाले कुनैपनि पार्टीले एक्लै समन्वय समिति गठन गर्न सक्ने अवस्था छैन ।
कैलालीमा १३ वटा स्थानीय तहका पालिका प्रमुख र उपप्रमुख गरेर २६ मत भार छ । अर्थात जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हो ।
नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ। कांग्रेसको मतभार ८ रहेको छ।
त्यस्तै एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ। उसको मतभार ५ रहेको छ।
त्यस्तै नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टिकापुर नगरपालिका उपप्रमुख, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ४ छ। एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकाको प्रमुखमात्रै जितेकाले उसको मतभार १ रहेको छ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, टिकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख उपप्रमुख जितेको छ। उसको मतभार ७ रहेको छ।
धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ। यहाँ गठबन्धन दलले सहमति गरे पनि जिल्ला समन्वय समिति बनाउने स्थिति देखिएको छैन।
स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरुले समन्वय समिति बनाउन सक्ने छन्। एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन। यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ।