काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फ नेकपा माओाबादी केन्द्रकी उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ।
महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन् । निर्वाचन कार्यालयका अनुसार मेयरमा रेणु दाहालको ५० हजार ३१० मत ल्याएकी छन् ।
उपमेयरमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले पनि गन्न बाँकी मतभन्दा धरै मतले अग्रता कायम गरी जित पक्का गरेका हुन् । उनले ५१ हजार १२९ मत ल्याएका छन् ।
दुवै उम्मेदवारले मत ५० हजार कटाएका छन् । यस्तै, मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३८ हजार ३९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७०५ मत छ । भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।