दार्चुला– दार्चुलामा जनप्रतिनिधिले सपथ लिएर काम सुरु गरेसँगै जिल्ला समन्वय समिति गठनबारे चर्चा सुरु भएको छ । ९ वटा स्थानीय तहमा गठबन्धनसहित चुनावमा होमिएको नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा समन्वय समिति बनाउने सम्भावना प्रवल देखिएको छ ।
चुनावमा वडा तहसम्मै गठबन्धन गरेको यी तीन वटा दलसँग प्रष्ट बहुमत छ । चार वटा स्थानीय तह प्रमुख र दुई वटा स्थानीय तहमा उपप्रमुखसहित माओवादीसँग ६ अंक भार छ । यस्तै नेपाली काग्रेससँग चार वटा उपप्रमुख उपाध्यक्ष जितेको छ । समन्वय समिति गठन गर्न १० अंक मतभार भए पुग्छ । नेकपा एमालेसँग ५ स्थानीय तह प्रमुख, २ वटा नगरउपप्रमुख र १ उपाध्यक्षसहित ८ अंक भार छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्र मिलेर समन्वय समिति गठन भएको थियो । अहिले पनि चुनावी गठबन्धन अघि कांग्रेसले समन्वय समिति प्रमुख र उपप्रमुख माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ । तर माओवादी केन्द्रले समन्वय प्रमुख दाबी गरेको खण्डमा गठबन्धन रहने या नरहने भने निक्र्यौल हुन सकेको छैन ।
समन्वय प्रमुख र उपप्रमुखको लागि नेकपा माओवादी केन्द्रबाट निर्वतमान समन्वय उपप्रमुख कृष्णसिह धामी हिमाल, खडकसिह धामी दाबेदार छन् भने नेपाली काग्रेसबाट महादेव बडु कस्यपको दाबी देखिएको छ ।