काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत अझै देशभरका पाँच पालिकाको नतिजा आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अगाडि छन् । उनलाई नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले पछ्याइरहेकी छन् ।
उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी अग्रस्थानमा छन् । उनलाई प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले पछ्याइरहेका छन् ।
रौतहटको गरुडा नगरपालिकको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार अगाडि छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले पछ्याइरहेका छन् ।
रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका गोपाल राय यादव अग्रता लिइरहेका छन् । उनलाई एमालेका विजय यादव पछ्याइरहेका छन् ।
मतदान रोकिएको बाजुराको बुढिगंगामा पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । यस विषयमा आयोगले निर्णय लिन बाँकी छ ।