काठमाडौं– स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४५ पालिकाको नतिजा आइसकेको छ । देशका ७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ । यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी २० र लोसपा १६ पालिकाको नेतृत्व हात पारेको छ ।
राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, राष्ट्रिय जनमोर्चा २, नेमकिपा १, विवेकशील साझा १, जनता प्रगतिशील पार्टी १, तमलोपा १ र जनमत पार्टी १ गरी साना दलले १४ पालिकाको नेतृत्व हात पारेका छन् ।
१६ ठाउँमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख–अध्यक्ष हात परेको अवस्था छ । यस्तै काँग्रेस २९८, एमाले २३६, माओवादी १२८, जसपा ३१, एकीकृत समाजवादी २४ र लोसपा १२ पालिकाको उपप्रमुख–उपाध्यक्ष जितेको छ । अन्यले १८ उपप्रमुख–उपाध्यक्ष जितेको पाइन्छ । यस्तै काँग्रेसले ३, एमाले २, एकीकृत समाजवादी १ र अन्य १ को अग्रता छ ।
समग्रमा काँग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र जसपा चौथो, एकीकृत समाजवादी पाँचौँ र लोसपा छैटौँ स्थानमा छ । राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा लगायतले दुई अङ्कको नजिता हात पार्न नसकेको अवस्था छ । काँग्रेस ७ वटै प्रदेशमा पहिलो दल बन्न सफल भएको छ ।