काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलबाट विजयी जनप्रतिनिधिलाई यही १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव बेदुराम भुसालले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
विज्ञप्तिमार्फत जवाफदेहिता र पारदर्शिता नागरिकको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
महासचिव भुसालले यसको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन दिएका छन् । नागरिकको विश्वासप्रति सधैँ इमानदार रहन, नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न, चुनावको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न तथा निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवम् सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्न पनि निर्देशन दिइएको छ ।