कैलाली– कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको बैठक सम्पन्न भएको छ । समितिका कार्यवाहक अध्यक्षसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षमा बसेको बैठकले सरकारलाई सञ्चालनको प्रारुप तत्काल तय गर्न लेखेर पठाउने निर्णय गरेको छ ।
बैठकले शिक्षा मन्त्रालयलाई तत्काल प्रारुप तय गर्न लेखेर पठाउने निर्णय गरेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । कानूनी प्रक्रिया टुंगो लगाएर मोडालिटी तय गर्न शुक्रबार शिक्षा मन्त्रालयलाई लिखित रुपमा आग्रह गरिने उनले बताए ।
गेटामा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार तयार गरिएको छ । तर सरकारले अहिलेसम्म सञ्चालनको प्रारुप भने टुंगो लगाएको छैन । मेडिकल कलेजको कार्ययोजनाले २०७७ सालदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो ।
तर, अहिलेसम्म पनि कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन । ०६६ मा तत्कालिन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो । तर, वातावरणीय प्रभाव मूल्यांकन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै पूर्वाधार निर्माणले गति लिएको हो ।
गेटामा रहेको साढे ५१ हेक्टर क्षेत्रमा निर्माण गरिएको प्रस्तावित मेडिकल कलेजमा चिकित्सा शिक्षाको अध्यापनसंगै ६ सय शय्याको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।