कैलाली– कैलालीको गेटा मेडिकल कलेजलाई सञ्चालनका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै धनगढीमा चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक दबाव समूहले बिहीबार धनगढीमा सडकमै पत्रकार सम्मेलन गरेको छ ।
मेडिकल कलेज सञ्चालन गर्न सरकारलाई दबाव सृजना गर्ने उद्देश्यसहित गठित नागरिकको संयुक्त दबाव समूहले धनगढीस्थित एलएनचोकको मुख्य सडक जाम गर्दै पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले सरकारले संसदको चालु अधिवेशनमै मेडिकल कलेजबारे टुंगो लगाउनुपर्ने बताए । उनले अब आउने बजेटमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट छुट्याइनुपर्ने धारणा राखे । सरकारलाई दबाव सृजना गर्न सुरु गरिएको चरणबद्ध आन्दोलन अन्तर्गत शुक्रबार गेटा मेडिकलमा चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गर्ने उनले बताए ।
कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम बिष्टले संरचना निर्माण भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय सरकारी प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा नसमेटिनु दुखद् रहेको बताए । उनले सरकारले मेडिकल कलेज सञ्चालनका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने बताए ।
यस्तै बरिष्ठ पत्रकार मनमोहन स्वाँरले मेडिकल कलेज सञ्चालनका लागि सरकारले तत्काल निर्णय लिनुपर्ने बताए । संरचना निर्माण भइसकेको अवस्थामा अब मेडिकल कलेजको प्रारुपको पनि टुंगो लगाएर आवश्यक प्रक्रिया सुरु गर्नुपर्ने उनको भनाई छ ।
दबाव समूहले त्यसअघि मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया थालनी गर्नुपर्ने माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाई ज्ञापन पत्र बुझाएको छ । दबाव समूहले आन्दोलनका कार्यक्रम अन्तर्गत हस्ताक्षर संकलन, धर्नालगायतका कार्यक्रम गरिरहेको छ ।
मेडिकल कलेज सञ्चालनका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै कैलालीको अत्तरियामा पनि लोकराज पाण्डे ‘आगो’को नेतृत्वमा संघर्ष समिति गठन गरिएको छ । उक्त समितिले पनि धर्ना, प्रदर्शनलगायतका दबावमुलक कार्यक्रम गरिरहेको छ ।
समितिले बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायतलाई ज्ञापनपत्र बुझाएको छ ।