काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार भई पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्।
जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले बताए।
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु,’ उनले धन्यबाद वक्तव्य जारी गर्दै भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।’
काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको पनि उनले उल्लेख गरेका छन्।
साथै, उनले मतदातालाई पनि धन्यवाद दिएका छन्।