काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौँको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौँलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।
नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।
Facebook Comments Box