काठमाडौं – काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया समेत दिएकी छन्।
आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदाताहरूलाई आह्वान गरिन् ।
उनले भनिन्, ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरु माझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रुपमा । यो अभियानमा जसरी यहाँहरूले युवाहरुलाई विश्वास गर्नुभएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केही न केही आशाको किरण, आशाको द्वीप थपि दिएको छ । र, यो आशाको द्वीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरुले पनि साथ दिनुपर्छ । एक/अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठ्नुपर्छ । म भन्ने शब्दभन्दा माथि उठ्नुपर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खबरदारी गर्नुहोला ।’