दार्चुला – दार्चुलामा पहिलो पटक बृहत् साहित्य महोत्सव सुरु भएको छ । ताराकिशन फाण्डेशनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलो पटक बृहत् साहित्य महोत्सव सुरु भएको हो ।
दुई दिनसम्म चल्ने साहित्य महोत्सवमा देशभरका साहित्यकारहरु सदरमुकाम खलंगा पुगेका छन् । साहित्य महोत्सवको महाकाली नगरप्रमुख नरसिह चैसिरले उद्घाटन गर्नुभएको छ ।
दार्चुलाको संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि पहिलो पटक बृहत् साहित्य महोत्सवको सुरुवात गरिएको हो । साहित्य महोत्सवमा बोल्दै नगरप्रमुख चैसिरले दार्चुलाको साहित्य र संस्कृतिको चिनाउन नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहित्य महोत्सवमा बोल्दै सुदूरपश्चिम विश्व विद्यालयका पूर्ण उपकुलपति अम्मराज जोशीले सुदूरपश्चिमको संस्कृति पहिचान गराउन आफुहरुले भूमिका खेलिरहेको बताउनुभयो । यहाँको संस्कृति र साहित्य चिनाउने प्रयास हाम्रो निरन्तर छ, उहाँले भन्नुभयो ।
नट्यकार आशेष मल्लले दार्चुलाको संस्कृतिले अब काठमाण्डौँ झकझाउनुपर्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउन यहाँको भर्जिन संस्कृति विक्री गर्नुपर्छ । त्यसको लागि यस्ता साहित्यसम्मेलन जिल्लामा मात्र नभई दार्चुलाको संस्कृतिले काठमाण्डौँमा प्रस्तुत गर्नुपर्छ ।”दार्चुलाको व्याँसी सौका समुदायको संस्कृति पहिचान हेर्न बुझ्न लायक छ । दुहुँको सरौ होस् या व्यासको छलिया नाचहरु यहाँको प्रमुख विशेषता रहको छ । जिल्लाको संस्कृतिको संरक्षण र पहिचान गर्नमा यहाँका महिलाहरुको अग्रसर रहेको प्राध्यापक डाक्टर लक्ष्मण गौतमले बताउनुभयो ।
प्राध्यापक खगेन्द्रप्रसाद लुईटेलले साहित्य सीमित नगराई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक रहेको बताउनुहुन्छ । कला संस्कृतिको जगेर्ना गर्न सके मात्रै हामी पर्यटक भित्र्याउन सक्छौ । साहित्य महोत्सवको उद्घाटन शत्रमा श्रीओम श्रेष्ठ, ज्ञानु अधिकारी, निलम कार्की, गोपीकृष्ण ढुंगाना लगायतको सहभागिता रहेको छ ।
साहित्य महोत्सवमा व्यासी सौका समुदायको झाकी, दुहुँ र व्याँसको सरौ नाच, महाकाली नगरपालिकाको गौरापर्वको नाँच, मालिकार्जुनको दमाहा बाजा, छलिया नाँच लगायतको प्रस्तुति देखाइएको थियो ।