काठमाडौं – किमाथाङ्का– सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको यार्सागुम्बा संकलन जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जका कार्यालयप्रमुख रामदेव चौधरीले जनाएका छन् ।
कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ ।
अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा संकलन गर्न पाउने छन् । यार्सागुम्बा संकलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्लाभित्रकालाई रु दुई हजार र जिल्ला बाहिरकाको लागि रु तीन हजार प्रवेश शुल्क तोकेको छ ।
यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । संकलित यार्सागुम्बा बिक्रीमार्फत उनीहरूले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने गरेका स्थानीयको भनाइ छ ।
निकुञ्जले विगतका वर्षमा यार्साबाट वार्षिक रु ५० लाख बढीको राजस्व संकलन गर्ने गरेको छ । गुणस्तरका आधारमा १ नम्बरको यार्सागुम्बालाई केजीको रु ४० लाखसम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सागुम्बा प्रति केजी रु साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।