बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक दलहरु नै आन्दोलित बनेका छन् । मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस र नेकपा एमाले नै विरोधमा उत्रिएका हुन् ।
जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको छ। अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले बताए । देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । जनमतविरुद्धको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने उनले बताए । एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने जनाएको छ ।
यता निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ । विवाद नभएको वडामा पनि पुनः मतदान गर्ने निर्णय गलत रहेको कांग्रेस बाजुराका सभापति रामसिंह रावलले बताए । यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ। कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ । तर, १, ६, ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन्।