कैलाली– स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका छन् । ७ सय ३४ वडा रहेको प्रदेशमा ७ सय २४ वडाको नतिजा आउँदा ५ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
कैलालीमा ४ र बझाङमा १ गरी ५ जना महिला वडा अध्यक्षमा विजयी भएको हुन् । कैलालीको गोदावरी नगरपालिका ७ मा एमालेकी कलावती साउँद, जोशीपुर गाउँपालिका ३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा, गौरीगंगा नगरपालिका ८ मा माओवादी केन्द्रकी करुणा चौधरी र लम्कीचुहा नगरपालिका ५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएका हुन् ।
यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका २ मा कांग्रेसकी गौरीकुमारी अधिकारी पनि विजयी भएकी छिन् । काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतका ठूला दलले महिलालाई उम्मेदवार नै नबनाउँदा न्यून संख्यामा वडा अध्यक्षमा महिला निर्वाचित भएका हुन् । प्रदेशका १० वडाको मतगणना बाँकी छ ।
बाजुरामा रहेको बुढीगंगा नगरपालिकामा ३० गतेको मतदानमा धाधली भएको भन्दै निर्वाचन आयोगले पुनःमतदान गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशका दुई पालिकाको प्रमुखमा मात्रै महिला प्रमुख निर्वाचित भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा सुशिला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिकामा अम्विका चलाउने प्रमुखमा निर्वाचित भएका हुन् ।