काठमाडौं– आर्थिक वर्ष २०७७ फागुन मसान्तको भन्दा चालु आर्थिक वर्षको फागुन मसान्तको तथ्यांकअनुसार प्रत्येक नेपालीको टाउकोमा १० हजार ८५८ रुपैयाँले ऋण बढेको छ। २ करोड ९१ लाख जनसख्या रहेको नेपालमा एक वर्षको अवधिमा नेपालीहरुको टाउकोमा ३ खर्ब १५ अर्ब ९६ करोड ७८ लाख रुपैयाँले ऋण बढेको हो।
गत आर्थिक वर्ष २०७७ फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ। यो सार्वजनिक ऋण गत आर्थिक वर्षको भन्दा ६.३९५ ले बढेको हो। यस तथ्यांकअनुसार एक जना नेपालीको भागमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पर्छ ।
सो आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब मध्ये ८ खर्ब ६३ अर्ब आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब बाह्य ऋण रहेको छ।