दार्चुला– जिल्ला कारागार दार्चुलाका कैदीबन्दीको लागि एक महिने सिलाइ कटाई तालिम सुरु भएको छ । कैदीबन्दीको सीप विकासको लागि सिलाई कटाइ तालिम सुरु गरिएको जिल्ला कारागार दार्चुलाले जनाएको छ ।
कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तका अनुसार कारागारभित्र रहेका ७५ जना कैदीबन्दीलाई उनीहरुको सीप विकासमा टेवा पुर्याउन एक महिने तालिम सञ्चालन गरिएको हो । सिलाई कटाइ तालिमको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उद्घाटन गर्नुभएको थियो ।
कारागारको कैदी जीवन सकेपछि घर फर्किदा पनि व्यवसाय सञ्चालन गर्न सजिलो होस् भन्नको लागि सिलाई कटाई तालिम सञ्चालन गरिएको जिल्ला कारागार दार्चुलाका निमित्त पन्तले बताए । खाली समयमा सीप सिक्दा उनीहरूको बाँकी जीवनलाई सघाउ पुग्ने गरी हरेक वर्ष सीप विकास तालिम सञ्चालन गर्ने गरिएको छ ।
निमित्त जेलर पन्तका अनुसार गत वर्ष होजियारी तालिम सञ्चालन गरिएको थियो । होजियारी तालिम लिएकाहरूले यो वर्ष राम्रो आम्दानी गरेको पाइएको उनले बताए । कारागार व्यवस्था विभागबाटै हरेक वर्ष तालिम तोकिएर आउने गरेको र सोही कार्यक्रम अनुसार कारागारका कैदीहरूलाई व्यवसाय मुलक तालिम दिइने गरेको उनको भनाई छ ।
कैदीबन्दीको सीप सिक्ने चाहना अनुसार तालिम दिन सुरू गरिएको कारागार प्रशासनले जनाएको छ । ‘तालिममा सहभागी मध्ये धेरैलाई थोरैथोरै सिलाई गर्न आउँछ भने केही पूरै नयाँ छन्,’ पन्तले भने, ‘नयाँलाई मेसिन चलाउनेदेखि धागो राख्ने सम्मको सीप सिकाउने गरिएको छ । कारागारले कैदीबन्दीको चाहनाअनुसार सीप विकास तालिम सञ्चालन गरेपछि उनीहरू खुसी छन् ।’
तालिम दिइन थालेपछि कैदीबन्दीले पनि खुशी व्यक्त गरेका छन् । ‘हाम्रो लागि तालिम आवश्यक थियो ।’–कैदी किरन धामीले भने– ‘भित्र दिनभरी त्यतिकै बस्नु भन्दा सीप सिक्दा नकारात्मक कुरा बिर्सन मद्दत पुग्छ ।’ कारागारभित्र सिलाई कटाई सीप सिकेपछि आफ्नो दैनिक चलाउनलाइ सहज हुने विश्वास जागेको अर्का कैदी महेश सामन्तले बताए ।
कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिर सुरक्षा निकायका प्रमुख लगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।