काठमाडौं– आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान अझै भेटिएको छैन । उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य आइतबारका लागि स्थगित गरिएको छ ।
खोजीकार्य सोमबार बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः सुरु हुने उनले बताए । उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उद्दार टोलीका सदस्यको सुरक्षाका लागि पनि अहिले टोली फर्काउनुपरेको हो ।
अधिकारीहरुका अनुसार विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।
खोजीका लागि नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टर पनि प्रयोग गरिएको थियो । नेपाली सेनाले सम्पर्कविहीन भएको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको थियो ।
सम्पर्कविहीन भएको ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ ।