काठमाडौं – तारा एयरको 9N AET विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरले जनाएको छ ।
तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी हिजोदेखि सम्पर्कविहिन तारा एयरको विमान ४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । विमान दुर्घटनाको जानकारी गराउँदा स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाले विमान दुर्घटना भएको तस्बिर सार्वजनिक समेत गरेको छ । विमान टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ। नेपाली सेनासाथै अन्य सुरक्षाकर्मी र स्थानीयको टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको हो ।
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ ।
टोलीले शव संकलन गर्न सरु गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् ।